मतपत्र च्यात्ने दुईजना लाई माओवादीले गर्यो खादा लगायर स्वागत, प्रचण्ड पुत्र प्रकाशले भने सत्यको जित भयो


काठमाडौं, १८ जेठ – भरतपुर महानगरपालिकामा मत गणनाका क्रममा मतपत्र च्यात्ने दुई जना माओवादी कार्यकर्ता रिहा भएका छन् । जनही एक/एक लाख रुपैयाँ धरौटी तिरेर उनीहरु रिहा भएका हुन् ।
माओवादी केन्द्रका मधु न्यौपाने र द्रोण सिवाकोटी रिहा भएका हुन् । उनीहरु धरौटी पश्चात रिहा भए । उनीहरुले भरतपुरमा ९० मत च्यातेको फेला परेको थियो ।


विहीवार निर्वाचन आयोग, सुरक्षा अधिकारी र दलका प्रतिनिधिले च्यातिएका मतपत्रको यकिन गरेका हुन् । १४ गते मतगणना चलिरहेकै बेलामा विवाद हुँदा माओवादी कार्यकर्ताले मतपत्र च्यातेका थिए ।
आज च्यातिएका मत पत्रको बारेमा यकिन हुँदै गर्दा पक्राउ परेका न्यौपाने र सिवाकोटी खादा लगाएर बाहिरिएका छन् ।

उनीहरुलाई माओवादी कार्यकर्ताले खादा लगाएर सम्मान गरेका हुन् ।
उनीहरुले खादा लगाएर बाहिरिएको तस्वीर माओवादी अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालले फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

दाहालले दुबै जना निर्दोष सावित भइ अदालतबाट बाहिरिएको बताएका छन् । तर मुद्दा किनारा लागेको छैन । उनीहरु धरौटीमा छुटेका हुन् ।