
भरतपुर : धेरैको चासोको विषय बनेको भरतपुर महानगरपालिकाको २९ वटा वडामा अब ३ वटा वडाको मात्रै मतगणना गर्न बाँकी रहेको छ ।
आइतबार बिहान वडा नं १८ को मतगणना सकिएको छ । अब वडा नं १९, २० र २१ को मात्रै मतगणना गर्न बाँकी रहेको छ । जसमा १९ नं वडामा २८८७ मत, २० नं मा ३३१८ मत र २१ नं वडामा ३५६८ मत गरी कुल ९,७७३ मतगणना गर्न बाँकी रहेको छ । १८ नं वडामा १३३५ मत ल्याएर नेपाली कांग्रेस विजयी भएको छ भने एमालेले ११०० मत प्राप्त गरेको छ । माओवादी केन्द्रले यस वडामा ६२३ मत पाएको छ ।
हालसम्मको नतिजा अनुसार एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले ३९,७५० मत पाउनु भएको छ भने माओवादी र कांग्रेस गठबन्धनकी साझा मेयर उम्मेदवार रेणु दहालले ३८,६०५ मत पाउनुभएको छ । हालको मतान्तर ११४५ रहेको छ । यसअघि वडा नं २२ को मतगणना सकिदा मतान्तर १४३० थियो वडा नं १८ ले रेणु दहाल र देवी ज्ञवाली बीचको मतान्तर २८५ घटाएको देखिन्छ । हाल २१ नं वडाको मत गणना सुरु गरिएको छ । अब रेणुलाई जितका लागि तिनै वटा वडामा देवी ज्ञवालीभन्दा कम्तिमा ३८२ बढी मत ल्याउनु आवश्यक देखिन्छ भने हालकै अनुपातमा मात्रै अग्रता कायम रहिरहेको खण्डमा एमालेका देवी ज्ञवालीले नै जित्ने देखिन्छ ।
अब गन्न बाँकी रहेका मध्ये तिनै वटा वडा कांग्रेसको पकड क्षेत्र मानिन्छ । त्यसकारण अब गणना हुने सबै वडामा रेणुले नै अग्रता कायम गर्ने दावी गरिएको छ । उता एमालेले पनि तालमेलबाट असन्तुष्ट कांग्रेस समर्थकको भोट एमालेलार्इ आउने र देवी ज्ञवालीकै जित हुने दावी गरिरहेको छ । १९ नं वडा कांग्रेसको सबैभन्दा राम्रो पकड भएको वडाको रुपमा मानिन्छ । यस वडा माओवादीबाट उपमेयरमा उम्मेदवारी दिएर फिर्ता लिएका सुरेन्द्र गुरुङको घर भएको र माओवादीका नेता तथा कलाकार खुसीराम पाख्रिनको घर भएको क्षेत्र भएकाले पनि राम्रै भोट आउने अपेक्षा माओवादीको रहेको छ । यस वडाबाट रेणु दहालले देवी ज्ञवालीसँगको मतान्तर निकै घटाउने गठबन्धन दलको आशा रहेको छ । यसरी हेर्दा दुवैको जितको सम्भावना बराबरै रहेको देखिन्छ । जित हारको आँकलन गर्नका लागि अन्तिम वडाको मतगणना नै कुर्नु पर्ने देखिन्छ ।
उता उममेयरमा भने नेपाली कांग्रेसकी उम्मेदवार पार्वती शाहले जित्ने पक्का भएको छ । पछिल्लो मतपरिणाम अनुसार पार्वतीले ४२,५८६ मत प्राप्त गर्नु भएको छ भने एमालेकी दिव्या शर्माले ३६,३८५ मत ल्याउनु भएको छ ।