भारतपुरमा च्यातिएको मतपत्रको रेकर्ड माग्दै निर्वाचन आयोगले गर्यो यस्तो निर्णय


काठमाडौं – निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा च्यातिएका मतपत्रको संख्या गनेर रिपोर्ट पठाउन निर्देशन दिएको छ ।
अनुगमन टोलीले च्यातिएको मतपत्र यकिन नभएको रिपोर्ट बुझाएपछि बुधबार बसेको निर्वाचन आयोगको बैठकले पर्याप्त सुरक्षा व्यवस्था मिलाएर शिलबन्दी खोल्ने निर्णय गरेको हो । आयोगले थप रेकर्ड आएपछि मात्र निर्णय गर्ने भएको छ।

भरतपुर महानगरको १९ नम्बर वडाको मतगणना प्रक्रियालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफलका लागि बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। शिलबन्दी खोलेर च्यातिएर नोक्सान भएका मतपत्रको संख्या यकिन गरेर प्रतिवेदन पठाउन भरतपुरका मुख्य निर्वाचन अधिकृतलाई भनिएको आयोगले जनाएको छ ।

यो पनि पढ्नुहोस १२ घण्टादेखि भरतपुर बिबाद टुंगो लगाउन आयोगको बैठक बस्दै, मतगणनालाई निरन्तरता दिने विषयमा सकारात्मक छलफल
बिहान ११ बजेदेखि बसेको निर्वाचन आयोगको बैठक अझै सकिएको छैन । भरतपुर महानगरपालिकाको मतगणना बिबाद टुंग्याउन निर्वाचन आयोगको बैठक बसेको हो ।

झण्डै आठ घण्टादेखि बसिरहेको बैठकले भरतपुरमा फेरि मतदान गराउने कि मतगणनालाई अघि बढाउने भन्नेबारे छलफल गरिरहेको छ । आयोग निकट उच्च स्रोतका अनुसार भतरपुरमा पुनः मतदान गराउँदा गलत नजिर बस्ने हँुदा च्यातिएको मतपत्रलाई बदर घोषित गरी मतगणनालाई निरन्तरता दिन सकिने भन्ने विषयमा छलफल चलिरहेको छ ।

मतदान गराउनेतर्फ भन्दा पनि प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव च्यातिएको मतपत्रलाई बदर घोषित गरेर मतगणनालाई अघि बढाउने मनस्थितिमा रहेको आयोग निकट उच्च श्रोतले जनाएको छ ।

घटनाबारे छानबिन गर्न आयोगले सोमबार गीताप्रसाद तिमिल्सिनको संयोजकत्वमा अनुगमन समिति गठन गरेको थियो । निर्देशनअनुसार समितिले बुधबार आयोग समक्ष प्रतिवेदनसमेत बुझाइ सकेको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ ले कुनै कारणले मतपत्र नोक्सान भएमा त्यो मतदान केन्द्रमा पुनः मतदात गराउनु पर्ने कानुनी व्यवस्था छ । तर भरतपुरमा मतगणनामा बसेका दलका प्रतिनिधिले नै नियतबस मतपत्र च्यातेको निष्कर्ष निकाल्दै आयोगले मतगणना अघि बढाउने तयारी गरेको स्रोतको दाबि छ ।