संसदको विशेष सम्बोधनपछि प्रधानमन्त्री प्रचण्डले राजीनामा दिँदै


काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' व्‍यवस्थापिका संसद्को विशेष सम्बोधनपछि राजीनामा दिनुहुने भएको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्रीले सो जानकारी दिनुभएको हो।
बैठकमा उहाँले भन्‍नुभयो, 'कांग्रेस माओवादीबीच भएको आलोपालो भद्र सहमति अनुसार नै मैले राजीनामा दिन्छु।' यस्तै मन्त्रिपरिषद्को बैठक सकिए लगतै प्रधानमन्त्री दाहालका पुत्र तथा स्वकीय सचिव प्रकाश दाहालले समेत फेसबुकमा प्रधानमन्त्रीले राजिनामा दिने उल्लेख गर्नुभएको छ।
उहाँले फेसबुकमा लेख्‍नु भएको छ,'सडकमा राजिनामा माग्दै नाराबाजी हुँदा, संसदमा बहुमत गुम्दा, अविश्वास प्रस्ताव दर्ता हुँदा पनि राजिनामा नदिने नेता हरेको मुलुकमा प्रधानमन्त्री प्रचण्डले नेपाली राजनीतिमा सहमतिका पालनामा इमान्दार बन्नुपर्छ भन्ने स्थापित गर्न राजिनामा दिँदैछन्।' प्रधानमन्त्रीले संसदको सम्बोधनपछि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाउनु हुनेछ।
यसअघि प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा सरकार गठनकै बेला नौ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने सहमति माओवादी केन्द्र र कांग्रेसबीच भएको थियो।