यसरी असफल भयो डीआइजी सिलवालमाथिको आक्रमण योजना,


काठमाडौं, । डिआइजी नवराज सिलवालको सुराकीमा परिचालित दुई जना प्रहरी ललितपुरको सानेपा क्षेत्रबाट समातिएका छन् । प्रहरी प्रधान कार्यालयबाट खटिएका ती प्रहरीलाई सिलवाल र उनका अंगरक्षकले बुधबार दिउँसो सानेपामा समातेका हुन् ।
समातिनेहरूमा प्रहरी सहायक निरीक्षक सुरज श्रेष्ठ र प्रहरी जवान दिनेश केवट रहेका छन् । समातिएको केही समयमै उनीहरू डिआइजी सिलवालको कब्जाबाट उम्किएका थिए । सिलवालले ती प्रहरीलाई समातेर सोधपुछ गर्दा आफूहरूलाई आइजीपी सचिवालयका डिएसपी भूपेन्द्र खत्री र सबिन प्रधानको निर्देशनमा प्रहरी निरीक्षक सञ्जय तिमिल्सिना र सई सुवास कटुवालको कमाण्डमा खटिएको बताएपछि सिलवाललाई हमला गर्ने रहस्य सार्वजनिक भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार समातिएका व्यक्तिहरू हतियारधारी थिए । हतियारसहित खटिएका व्यक्तिहरूबाट आफ्नो जीउ ज्यान असुरक्षित भएको भन्दै प्रहरी नायब महानिरीक्षक सिलवालले बुधबारै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् । हतियारधारी प्रहरी पछि लागेको थाहा पाएपछि सिलवाल र उनका बडीगार्डले नियन्त्रण प्रयास गरेका थिए । सिलवालका अनुसार बुधबार दिउँसो ठमेल क्षेत्रमा एक पत्रकारलाई भेट्न जाँदा प्रहरी प्रधान कार्यालयबाट टोली खटिएको सूचना आएको थियो । एक अनलाइनमा अपराध बिटमा काम गर्ने पत्रकारले बुधबार बिहान सिलवाललाई भेट्न बोलाएका थिए । ‘अत्यन्त जरुरी’ भन्दै ती पत्रकारले बोलाएपछि सिलवाल ठमेल गएका थिए । डिआइजी सिलवाल भएको क्षेत्र पत्ता लगाउन ती पत्रकारलाई प्रयोग गरिएको थियो । सिलवाल ठमेल क्षेत्रमा पुगेको केहीबेरमै इन्पेक्टर तिमिल्सिना र सई कटुवाल नेतृत्वको टोली हतियारधारी प्रहरी लिएर खटिएको थियो । प्रत्यक्षदर्शीका अनुसार बा.७ प. ५०९५ नम्बरको मोटरसाइकलमा ती दुई प्रहरी खटिएका थिए । उनीहरूले एकान्त स्थानमा पुगेपछि सिलवालमाथि हमला गर्ने योजना बनाएका थिए ।
आइजीपीमा प्रकाश अर्यालको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा दिएको निवेदनको अन्तिम सुनुवाइका बखत सिलवालमाथि योजनाबद्ध तरिकाले प्रहरी खटाउन थालिएको हो । दोस्रो वरियताका डिआइजी अर्याललाई मन्त्रिपरिषदले नक्कली कार्यसम्पादन मूल्यांकन फाइल बनाएर बढुवा गरेको सिलवालले निवेदनमा उल्लेख गरेका थिए । त्यही मुद्दाको पेशी बिहीबारका लागि तोकिएको छ । त्यसको पूर्वसन्ध्यामा डिआइजी सिलवालमाथि योजनाबद्ध हमलाको प्रयास गरिएको हो ।
सर्वोच्च अदालतले यसअघि नै डिआइजी सिलवाल पहिलो नम्बरमा रहेकाले सोहीबमोजिम नियुक्ति गर्न आदेश दिएको थियो । तर, सरकारले दोस्रो वरियताका अर्याललाई नियुक्ति गरेपछि सिलवाल पुनः अदालत गएका थिए । अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्न माओवादी–कांग्रेसले प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग सिफारिस गरेका थिए । महाअभियोग कार्यान्वयन नगर्न र कार्कीलाई काममा फर्किन सर्वोच्चले नै आदेश दिएपछि कार्की काममा फर्केकी थिइन्, एमालेको दबाबमा उनीविरूद्धको महाअभियोग प्रस्ताव फिर्ता पनि भइसकेको छ । बिहीबार सर्वोच्चमा हुन गइरहेको सुनुवाइले पद धरापमा पर्ने बुझेपछि सिलवालमाथि हमला गर्न अर्यालले टोली खटाएको बुझिएको छ । मानवअधिकार आयोगमा सिलवालले दिएको निवेदनमा आफ्नो बाँच्न पाउने मौलिक अधिकारको हनन भएकोले रक्षा गर्न माग गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत सिलवाल बिरामी बिदामा छन् । ‘प्रहरी महानिरीक्षकको पदोन्नतिको विषयमा सर्वोच्च अदालतमा मेरो मुद्दा विचाराधीन रहेको अवस्थामा प्रहरी प्रधान कार्यालयबाट ममाथि सर्भिेलेन्स गर्ने, मेरो परिवारलाई तर्साउने, धम्काउने लगायतका कामहरु भइरहेका छन्’ डीआइजी सिलवालले आयोगमा दिएको उजुरीमा भनिएको छ । प्रहरी महानिरीक्षक नियुक्तिमा सिलवालको पक्षमा लेख्ने सञ्चार गृह, पत्रकारहरूलाई समेत पछिल्लो समय प्रहरी प्रधान कार्यालयले निगरानी गर्ने गरेको छ । दृष्टिन्युज डटकमबाट साभार